एक महिनामा बजेट खर्च दुई खर्ब, असार २४ गते साढे ३३ अर्ब खर्च

एक महिनामा बजेट खर्च दुई खर्ब, असार २४ गते साढे ३३ अर्ब खर्च

काठमाडौं, असार २५ । सरकारले असार २४ गतेसम्म १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । जेठ २५ गते यता २ खर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । असारको २४ दिनमा १ खर्ब ७४ अर्ब ९२ करोड खर्च गरेको छ । जेठ २५ गतेसम्म सरकारले ११ खर्ब ५५ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको थियो । असार १ गतेसम्म सरकारको जम्मा खर्च ११ खर्ब ८१ अर्ब २९ करोड रुपैयाँ थियो ।

सरकारले यस आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयनमा ल्याएको थियो । असार २५ गते (आज) देखि सबै सरकारी खाता बन्द गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि नियमावलीको प्रावधानअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साता अघि देखि सरकारले भुक्तानी बन्द गर्नुपर्छ । यहीकारण मंगलबारदेखि खाता बन्द भएको छ । अब सरकारी कार्यालयमा आएर रोकिएका बिल बाहेक अन्यको भुक्तानी हुने छैन । यहीकारण असारको २३ र २४ गते सबैभन्दा धेरै भुक्तानी भएको देखिन्छ । असार २४ गते ३३ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ । 

यस आर्थिक वर्षमा पनि सरकारको पुँजीगत खर्च कमजोर देखिएको छ । यसवर्ष ३ खर्ब २ अर्ब ७ करोड पुँजीगत खर्च गरिने लक्ष्य राखिएकोमा जम्मा ५६.९७ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । 

वित्तीय व्यवस्था तर्फ ८१.४ प्रतिशत खर्च भएको छ । यसवर्ष सरकारले वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड खर्च गर्ने लक्ष्य राखेको थियो । 

चालू तर्फ असार २४ गतेसम्म ८१.७९ प्रतिशत खर्च भएको छ । यसवर्ष सरकारले ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ चालू खर्च गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ९ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । 

राजस्व संकलन लक्ष्यभन्दा निकै कम
सरकारले लक्ष्य भन्दा निकै कम राजस्व संकलन गरेको छ । असार २४ गतेसम्मको तथ्यांकअनुसार सरकारले कुल लक्ष्यको ६९.५९ प्रतिशत राजस्व संकलन गरेको छ । यस आर्थिक वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामोमा मंगलबार बिहानसम्म ९ खर्ब ८९ अर्ब ९६ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । 

सरकारले यसवर्ष ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा जम्मा ५.५२ प्रतिशत मात्रै प्राप्त गरेको छ । अहिलेसम्म जम्मा २ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको छ । 


शेयर गर्नुहोस