logo
Blog single photo
January 24 2023

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार एक समारोहकाबीच सम्पन्न भएको छ । 

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए । यस्तै संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शुन्य सहनशिलता नीति अपनाउन आग्रह गरे । 

कार्यक्रममा अर्थमन्त्री पौडेलले परिस्कृत मोवाइल बैंकिङ–आरबिबि डिजिटल संसार एप्स्को शुभारम्भ गरेका छन् । वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७९ पनि विमोचन गरेका छन् । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताए । अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने बताए । 

बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्राहक सेवामा अझ सूधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरु प्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सूदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताए । 
उनले २०७९ पुस मसान्तसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । 
 



All banking information at your fingertips

Top