logo
Blog single photo
November 15 2022

बैंकहरुको मुद्दती निक्षेपमा ४० करोड लगानी गर्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा ३६७ दिन अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ पषर््का विकास बैंकहरुमा ६ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ करोड रुपैयाँ निक्षेप राख्न लागेको हो । सो रकम २०७९ मंसिर ८ गतेदेखि २०८० मंसिर ९ गतेसम्मका लागि मुद्दती निक्षेप भएको हो । 

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी मंसिर १ गतेसम्ममा बोलकबोल पेश गर्नु पर्ने छ। 
मुद्दती निक्षेपको ब्याज मासिक रुपमा भुक्तानी गर्नुपर्ने छ । यो निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।



त्यसैगरी, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु पनि तोकेको छ ।

Top