बैंक खबर । बैंकिङ प्रणालीमा तरलता अभाव चर्किदै गएपछि नेपाल राष्ट्र बैंकले बुधबार फेरि ३० अर्ब रुपैयाँ पठाएको छ । सो रकम रिपो उपकरण मार्फत सात दिनका लागि दिन लागेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले अहिले तरलता अभावको सामना गरिरहेका छन् । जसका कारण अन्तर बैंक सापटी पाउनै छडेको छ । यस्तो रकमको ब्याजदर पनि करिब ५ प्रतिशत पुगिसकेको छ । अन्तरबैंक ब्याजदर ५ प्रतिशत पुगेपछि केन्द्रीय बैंकले त्यसको नियन्त्रणका लागि विभिन्न वित्तीय उपकरणको प्रयोग गर्दै आएको छ ।
तरलता अभाव भएपछि अहिले बैंकहरुले एसएलएफ चलाइरहेका छन् । चालु आर्थिक वर्ष शुरु भएयता बैंकहरुले अहिले सम्म ५ खर्ब बराबरको एसएलएफ चलाइसकेका छन् ।
राष्ट्र बैंकले गत साता पनि ३० अर्ब रुपैयाँ रिपो मार्फत बैंकहरुलाई दिएको थियो । तर बैंकहरुले दोब्बर रकम माग गरेका थिए । बुधबार जारी हुने रिपो असोज २० गते परिपक्व हुनेछ ।